मोरङमा एक बालकको छुरा प्रहार गरी हत्या


मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठ हेर्न पुगेका एक बालकको छुरा प्रहारबाट हत्या भएको छ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरिएको हो। छुरा प्रहार गरेर दियुसको हत्या गरिएको प्रहरीले जनाएको छ।
उनको बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार भएको कोइरालाले बताए । छठ पर्व हेर्न मावा खोलामा पुगेका दियुसमाथि आइतबार राति १०:२५ बजेतिर छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घाइते बालकलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको थियो । उनको उपचार गोदावारीमा सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। उपचारका क्रममा सोमबार बिहान ४:५० बजेतिर उनको मृत्यु भएको एसपी कोइरालाले बताए।
कोइरालाका अनुसार दियुसमाथि छुरा प्रहार गर्नेहरुको पहिचान हुन बाँकी छ । उर्लाबारीकै हाटखोला बस्ने तत्काल नाम, थर र वतन नखुलेका च्यान्टे भनिने युवाको समूहले छुरा प्रहार गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ। घटनामा संलग्नहरु फरार रहेको प्रहरीले बताए।





