महँगो ब्याजदरले शेयर बजारमा बैंकको पैसा आउन सकेन, बजार लगातार घट्दा मार्जिन कर्जा लिने शुन्य


काठमाडौ । बैंकहरुले शेयर धितो कर्जामा गरेको लगानी डेढ वर्ष अघिकै अवस्थामा झरेको छ। केन्द्रिय बैंकले गरेको कडाइका कारण लगातार घटेको शेयर धितो कर्जा अहिले महंगिएको ब्याजदर र लगातार बजार घट्दा बैंकको कर्जा शेयर बजारमा आउन सकेको छैन।
भदौ महिनामा पनि बैंकहरुको शेयर धितो कर्जा करिब १ अर्ब रुपैयाँले घटेको छ। साउन अन्तिमसम्ममा बैंकहरुले शेयर धितोमा ७६ अर्ब ८० करोड रुपैयाँ कर्जा दिएका थिए। भदौ अन्तिमसम्ममा त्यो घटेर ७५ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ। गत असार मशान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा कुल ८० अर्ब ५० करोड रुपैयाँ कर्जा दिएका थिए।
बजार बढ्दा उच्च दरमा बढेको मार्जिन कर्जा बजार घट्दा पनि लगातार घट्दो क्रममा देखिएको छ। गत आर्थिक वर्षमा केन्द्रिय बैंकले शेयर धितो कर्जामा ४ करोड र १२ करोड रुपैयाँको सिमा तोकिदिएपछि शेयर धितो कर्जा लगातार घट्दो क्रममा छ।
अहिले बैंकहरुको शेयर धितो कर्जा करिब डेढ वर्षभन्दा अघिको अवस्थामा झरेको छ। यसले बढेको बजारमा कर्जा लिने धेरै लगानीकर्ता कर्जा चुक्ता गरिसकेको देखाउछ। खासगरी, राष्ट्र बैंकले शेयर धितोमा सिमा तोकेको कारणले पनि ठूलो कर्जा लिएर शेयर कारोबार गर्ने लगानीकर्तालाई कर्जा चुक्ता गर्नुपर्ने बाध्यता रह्यो। यसले गर्दा पनि लगानीकर्ताले लिएको ठूलो कर्जा बैंकमा नै फिर्ता भएको छ । गत वर्ष यही प्रेसरकै कारण पनि शेयर बजारमा उच्च गिरावट देखिएको थियो। राष्ट्र बैंकको सिमाको कारण अहिले सबै कर्जा १२ करोड रुपैयाँभन्दा कम रकमको छ। ठूला कर्जा घटेपछि पछिल्लो समय साना रकमको कर्जा भने बढ्दै गएको छ।
अहिले बैंकहरुको ब्याजदर उच्च रहेको र बजार पनि घट्दो क्रममा नै रहेको कारण लगानीकर्ताले शेयर धितो कर्जा लिएका छैनन्। लगानीकर्तामा कर्जा लिएर लगानी गरेर नाफा कमाउन सकिन्छ भन्ने आत्मविश्वास नभएका कारण पनि शेयर धितो कर्जा बढ्न सकेको छैन। अहिले लगानीकर्ताले शेयर धितो कर्जा लिँदा १५ प्रतिशतभन्दा बढी ब्याज तिर्नुपर्ने हुन्छ। बैंकहरुले विस्तारै कर्जा दिन थालेको भए पनि लगानीकर्ता शेयर कर्जा लिन खासै इच्छुक देखिदैनन्।
बजार लगातार घटिरहेका कारण कर्जा लिएर बजारबाट नाफा कमाउन सक्छु भन्ने कन्फिडेन्स छैन। यसले गर्दा पनि बैंकहरुको पैसा अहिले शेयर बजारमा आउन सकेको छैन।





