काठमाडौ ७ बाट चुनाव लड्न ओलीले प्रस्ताव गर्नुभयो, मैले अस्वीकार गरेँ: डा. स्वर्णिम वाग्ले


काठमाडौं, कात्तिक ५ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन् । अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको बताएका हुन् ।
शनिबार काठमाडौँमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए ।
‘टिकटको आकाङ्क्षी थिएँ, नपाएपछि मलाई नेकपा एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो । यो कुरा म आज भन्न सक्छु । काठमाडौँ ७ बाट चुनाव लड्नुस्, हामी सहयोग गर्छौँ, त्यहाँ काँग्रेसको उम्मेदवार पनि छैन, नेकपा एमालेले तपाईंलाई सहयोग गर्छ, तपाई शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो ।’ अर्थविद् वाग्लेले भने ‘रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो । कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्सन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न । मेरो तीन पुस्ते काँग्रेस नै हो ।’
उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए । अर्थविद् वाग्लेले आफूले स्वतन्त्र उमेदवारी नदिएकोबारे पनि जानकारी गराए । उनले भने, ‘स्वतन्त्र भएर चुनाव लड्नुपर्छ भनेर पनि दबाब नआएको होइन, तर मैले के डिसाइड गरेँ भन्दा, हामी बहुदलीय व्यवस्थामा छौँ, धेरै कुराहरू सीमा, बन्धन, नियममा रहनुपर्छ । अहिले म यही फ्रेमवर्क भित्र नै सक्रिय हुन्छु । तत्कालमा जनमत बनाउने, युवाहरूसँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौँ ४ बाट सुरु गरेर देशव्यापी रूपमा छलफल म लैजान्छु । निर्वाचनसम्म माहौल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउनेछु ।’





