मौसम

    आजबाट मनसुन बाहिरिँदै

    नवलपुर टुडे
    २०७९ अशोज २९ | मध्यान्ह ०८:०६ बजे
    फाइल तस्बिर

      काठमाडौ, असोज २९ । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो ।

      ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ । नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

      सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आवश्यकताअनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने पनि जनाएको छ । रासस

        कमेन्टहरु