अपरहणपछि गेष्ट हाउसमा लगेर हत्या, तीनजना पक्राउ


सिरहा, असोज २८ । सिरहाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरूमा धनुषाको कमला नगरपालिका–६ बस्ने १९ वर्षीय राकेश ठाकुर, सोही ठाउँका १८ वर्षीय किशोर र मोरङको रतुवामाई नगरपालिका–५ बस्ने २६ वर्षीय मनोज कार्की रहेका छन् ।
अंशु सदाको शव शुक्रबार दिउँसो विराटनगर महानगरपालिका-११ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसको १ नम्बर कोठामा फेला परेको थियो । शवलाई सेतो तन्नामा पोको पारेर कोठाको लो-बेड मुनि हालिएको अवस्थामा पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार नाकबाट रगत बगिरहेको अवस्थामा शव भेटिएका सदाको टाउको लगायत शरीरका विभिन्न भागमा चोट रहेको थियो । उनी असोज २३ गतेदेखि नै हराइरहेका थिए । परिवारका सदस्यले खोजतलासका लागि बिहीबार इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन समेत दिएका थिए ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ ।





