गृहमन्त्री खाणविरुद्ध उम्मेदवारी दिएका इम्दादले फिर्ता लिए


रुपन्देही, असोज २६ । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएका इम्दाद हुँसेन खा र रुपन्देही ३ प्रदेश सभा (क) मा माओवादीका तर्फबाट उम्मेदवारी दिएका फैज अहमद खाँले उम्मेदवारी फिर्ता लिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि आफूहरूले उम्मेदवारी फिर्ता लिएको प्रदेश सभा उम्मेदवारी फैज अहमद खानले जानकारी दिए ।
उनीहरूले सत्तारुढ गठबन्धनका उम्मेदवारीलाई विजयी बनाउन र प्रतिगमनकारी उम्मेदवारीलाई पराजित गर्न आफूहरूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । ‘हामीले सत्तारुढ गठबन्धनका उम्मेदवारीलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी गराउन र प्रतिगमनकारी उम्मेदवारीलाई हराउनन उम्मेदवारीी फिर्ता लिएका छौँ,’ फैज अहमदले भने । प्रतिनिधि सभामा उम्मेदवारी दिएका इम्दादले गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र गठबन्धनलाई विजयी बनाउन उम्मेदवारी फिर्ता लिएको बताए ।
निर्वाचन कार्यालयले पनि फैज र इम्दादको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको छ । फैज र इम्दाद नाताले बाबु छोरा हुन् । फैज माओवादीका सिद्धार्थनगर नगरपालिकाका इञ्चार्जसमेत हुन् । फैजले आफू उम्मेदवारी हुँदाभन्दा बढी सत्तारुढ गठबन्धनका उम्मेदवारीलाई जिताउन खटिनेसमेत बताए । ‘म जति म उम्मेदवारी हुँदा प्रचार प्रसारमा खटिन्थे, त्यति गठबन्धनका उम्मेदवारीलाई जिताउन खटिनेछु,’ फैजले भने ।
रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं ३ मा गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण उम्मेदवारी छन् । रुपन्देही क्षेत्र नं ३ प्रदेशसभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रुपन्देही क्षेत्र नं ३ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवारी छन् ।





