सर्लाही २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार महेन्द्र राय यादव


काठमाडौँ, असोज २६ । सत्ता गठबन्धनले सर्लाही २ मा महिन्द्र राय यादवलाई आधिकारिक उम्मेदवार बनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा सहभागी भए पनि सर्लाही २ मा लोसपा नेता राजेन्द्र महतो छाडेर माओवादी केन्द्रका नेता महिन्द्र राय यादवलाई उम्मेदवार बनाइएको हो ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बुधबार सामूहिक विज्ञप्ति जारी गरेर सर्लाही २ मा यादव नै उम्मेदवार भएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सर्लाही जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधिसभामा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार महिन्द्र राय यादव र सर्लाही क्षेत्र नम्बर २ प्रदेशसभा (१)मा सुनिल साह र प्रदेशसभा (२) मा कौशल किशोर राय यादव उम्मेदवार हुनुभएको यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’





