नक्सालस्थित होटेल क्राउन प्लाजामा जलेर युवतीको मृत्यु

नवलपुर टुडे
२०७९ अशोज २६ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं, असोज २६ । काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा आगोले जलेर एक युवतीको मृत्यु भएको छ । आगलागीमा परी चाबहिल बस्ने २३ वर्षीया पवी खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार यो घटना यही असोज २४ गते भएको र २५ गते कीर्तिपुर अस्पतालमा उपचारका क्रममा युवतीको मृत्यु भएको खुलेको हो । घटनाबारे प्रहरीलाई ढिलो जानकारी गराइएको उनको भनाइ छ । प्रारम्भिक अनुसन्धानका क्रममा युवतीको शरीरमा पेट्रोल छर्किएको खुलेको छ ।
खनाल गएको सोमबार दिउँसो एक पुरुषसँग उक्त होटेलमा पुगेकी थिइन् । उनीहरूले होटेलमा कोठा लिएर बसेको खुलेको छ । कोठामा बसेको केही समयपछि युवतीको शरीरमा आगो लागेको पाइएको थियो । प्रहरीले घटनाको अनुसन्धानका क्रममा सोही होटेलका म्यानेजरसहित दुईजना पक्राउ गरेका छन् ।





