बाढीपहिरोबाट पछिल्लो पाँच दिनमा १४ को मृत्यृ, ११ बेपत्ता, १५ जना घाइते


काठमाडौ । अविरल वर्षाका कारण आएको बाढीपहिरो र चट्याङमा परी पछिल्लो पाँच दिनमा मुलुकभर १४ जनाले ज्यान गुमाएका छन् । ११ जना बेपत्ता रहेको १५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । शनिबार जुम्लामा पहिरोमा परेर सातजनाले ज्यान गुमाएका छन् । कनकासुन्दरी गाउँपालिका– ५ बारकोटेवाडामा पहिरोका कारण स्थानीय गणेश शाहीको घर भत्कँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, छोरा रमेश, बुहारी पानसरा शाही, रमेशका आठ वर्षीय छोरा अनमल र छोरी मिलन तथा छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको मृत्यु भएको हो । घटनामा स्थानीय सरस्वती हमाल गम्भीर घाइते भएकी छिन् भने रामबहादुर हमाल सामान्य घाइते भएका छन् । घटनास्थल जुम्ला सदरमुकाम खलंगादेखि झन्डै ८० किलोमिटर टाढा छ । कर्णाली राजमार्गअन्तर्गत रारा–लिही र नाग्म–गमगढी सडकखण्डमा ठाउँ–ठाउँमा पहिरो गएका कारण सदरमुकाम खलंगाबाट थप उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन ।
यस्तै, जिल्ला प्रहरी कार्यालयका अनुसार भारी वर्षापछिको बाढीमा परी हिमा गाउँपालिकामा आमा–छोरा बगेर बेपत्ता भएका छन् । हिमा– ३ जोगीवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उनका तीन वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका हुन् । गत बिहीबार काठमाडौंको चन्द्रागिरि नगरपालिका– २ देउरालीमा आएको पहिरोमा परी एकै परिवारका तीनजनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा काभ्रेका राजु श्रेष्ठ, उनकी श्रीमती रेखा र छोरा सारथि रहेका छन् । उनीहरूले देउरालीमा रेकी ध्यान केन्द्र चलाउँदै आएका थिए ।
सोही ध्यान केन्द्रमा उनीहरू बस्दै आएका थिए । अविरल वर्षाका कारण मध्यरातमा पहिरो आएपछि उनीहरू पुरिएका थिए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बढीपहिरोका कारण गत सात दिनभित्र मुलुकभर तीन करोड ४२ लाख ८६ हजार रुपैयाँ मूल्यबराबरको धनमाल नष्ट भएका छन् ।





