आर्यभन्ज्याङ-रामपुर सडक दुई दिनदेखि अवरुद्ध


पाल्पा । पाल्पाको आर्यभन्ज्याङ-रामपुर सडकखण्डको ६ स्थानमा पहिरो खसेर दुई दिनदेखि अवरुद्ध भएको छ ।४९ किलोमिटर सडकको २३ किलोमिटर वीरकोट क्षेत्र र २५ किलोमिटर सेफतमा दुई ठूला पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । सोही सडकअन्तर्गतको पूर्वखोला गाउँपालिका–१, सिलुवाको सानोगल्धा, चापगैरालगायत स्थानमा समेत पहिरो खसेको छ ।
स-साना पहिरो अन्यत्र पनि खसेको स्थानीयले जानकारी दिए । पहिरो खसेपछि रामपुरतर्फबाट र आर्यभन्ज्याङबाट सवारी साधन चल्न नसकेको प्रहरी चौकी जब्गादीले जनाएको छ । यो सडकले माथागढी, पूर्वखोला, रम्भा, रामपुर नगरपालिका, निस्दीका २० भन्दा बढी वडा जोड्छ । सेफद, बीरकोट, चापगैरा, सानो गल्धालगायत स्थानमा पहिरो खसेर सवारी साधन अवरुद्ध भएको जानकारी प्रहरी चौकी जब्गादीले सडक डिभिजनमा गराइसकेको छ ।
पहिरो क्षेत्रमा मानिससमेत हिँड्न नसक्ने गरी लेदो माटो रहेकाले आवतजावतमै समस्या भएको रामपुर नगरपालिका–९ जब्गादीका कपिल अर्यालले जानकारी दिए । सानाठूला सवारी साधनमात्र नभई मानिससमेत हिँड्न नमिल्ने गरी पहिरो खसेको छ । सेफदमा हरेक वर्ष पहिरो खस्ने समस्या छ । सडक डिभिजन पाल्पाका प्रमुख प्रदीपमणि निरौलाका अनुसार सिद्धार्थ राजमार्ग र पाल्पा, गुल्मी सडकमा डोजर परिचालन गर्नु परेकाले बिहीबार पहिरो पन्छाउन नसकेको बताए । उनले शुक्रबार दिउँसो डोजर जाने र बेलुकीसम्म सवारी साधन सञ्चालन गर्ने प्रयास गरिने बताए ।
लेदोसहितको पहिरो र माथिल्लो भाग भासिएकाले पहिरो पन्छाउन समस्या हुन सक्ने स्थानीयले बताए । सडक अवरुद्ध भएपछि दसैं मान्न घर गएका र आफन्तकहाँ पुगेकाहरू अलपत्र परेका छन् । यो सडकले मित्याल, गल्धा, अर्चले, सिलुवा, खालीवन, बीरकोट लगायत ग्रामीण भेगलाई जोड्छ । सडक खुलाउन पानी परिरहेकोले केही दिन लाग्ने छ ।





