सुस्ताका ५० घर डुबान, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

नवलपुर टुडे
२०७९ अशोज २१ | बिहान ०९:०६ बजे

परासी । अबिरल बर्षापछि नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा बाढी पसेको छ । पश्चिम नवलपरासीको गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुटेर बस्तीमा पानी पसेको हो ।
ठोक्कर नम्बर १ को फुटेको बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरीरहेका छन् । पानी नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर डुबानमा परेको छ । अहिलेसम्म नारायणी नदीको बहाव बढिरहेकाले बाढीको थप जोखिम रहेको भन्दै सुरक्षाकर्मीले सुस्ताका स्थानीयलाई सामुदायिक भवन र विद्यालयमा सुरक्षित स्थानमा राखेका छन् ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलका अनुसार सुस्तामा रहेका सुरक्षाकर्मी र स्थानीयले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राखेको र थप सहयोग पठाउन लागिएको बताए ।





