पाल्पामा भलिबल खेल हेर्न गएका दुई युवा तीन दिनपछि मृत फेला


तानसेन । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुवासका दुई युवा बेपत्ता भएको तीन दिनपछि बुधबार मृत अवस्थामा भेटिएका छन् ।
उनिहरु घरबाट भलिबल खेल हेर्न हिँडेका निस्दी–३, झिरुवास भलुवाका २१ वर्षीय वीरेन्द्र सोमैको पहिचान भएको छ । मृत अवस्थामा भेटिएका अर्का एक युवाको भने बिहीबार बिहानसम्म पहिचान खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार निस्दी गाउँपालिका–४, मित्याल मौलाथरमा असोज १७ गते भलिबल हेर्न हिँडेका सोमै घर फर्किएका थिएनन् । उनको खोजी गर्दै जाँदा निस्दी- ४, मित्यालकै काफल खोलामा विभत्स अवस्थामा बुधबार मृत भेटिएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार शव भेटिएको स्थान मोटरबाटोबाट कम्तीमा ४ सयमिटर टाढा पर्छ । अर्का युवाको शव भने निस्दी गाउँपालिका– ५, गल्धाको ढुंगानाबेंसी नजिकै फेला परेको प्रहरीले जनाएको छ ।
ढुंगानाबेंसीमा शव भेटिएका युवाको पहिचान खुलेको छैन । प्रहरीले घटनाको सम्बन्धमा विस्तृत अनुसन्धानपछि मात्र सत्यतथ्य आउने जनाएको छ । स्थानीयका अनुसार शरीरका अंगहरूसमेत छरपस्ट अवस्थामा भेटिएको छ । स्थानीयले हत्या भएको हुन सक्ने आशंका गरेका छन् । उनीहरुले घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान गर्न प्रहरीसँग माग गरेका छन् ।
मृत अवस्थामा भेटिएका दुवैको शव रामपुर अस्पतालमा लगिएको छ । अस्पतालमा चिकित्सक नभएकाले पोस्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ । दुई युवा मृत अवस्थामा भेटिएपछि स्थानीय त्रसित छन् ।





