रामेछापमा पितृ खुसी पार्न भन्दै कुटेर छोरीको हत्या, आमा घाइते, २२ जना पक्राउ


काठमाडौं, असोज ११ । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् ।
उनीहरूको कुटाइबाट मृतककी आमा ७० वर्षीय सुनमाया माझीको पनि अवस्था गम्भीर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरी सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले सात जना महिलासहित २२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैले आफूले मृतकलाई कुटपिट नगरी पितृ खुसी नहुने भएकोले कुटपिट गरेको स्वीकारेका छन् ।
सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व रहेको र उनीहरूको संस्कारअनुसार सोह्रश्राद्धमा मरेका पितृहरूलाई घाट (नदी)मा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शिरमा पितृ आउने र परिवारको कुनै एक सदस्यको शरीरमा पस्ने गर्छ भन्ने विश्वास छ । जसको शरीरमा पितृ पस्ने बित्तिकै ऊ काम्ने गर्दछ । घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट एक दिन सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसेमा घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने चलन छ ।
नदीमा बगाउने बेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरूको शरीरमा पितृ खुसी हुन्छन् भन्ने विश्वास माझी समुदायको छ । योसँगै उनीहरूको विशेष चाड सोह्रश्राद्ध सकिन्छ ।
तर, यसपटक पितृलाई बगाउँदासमेत काम्ने व्यक्तिलाई पितृले नछोडेकाले यसको दोषी गाउँकै बिबी माझी रहेको भन्दै युवायुवतीले निष्कर्ष निकालेका थिए । र, उनीहरूले पिट्न थालेको बताइएको छ ।





