बंगलादेशमा डुंगा दुर्घटनामा परी २४ जनाको मृत्यु


ढाका । बंगलादेशको पञ्चगढ जिल्लास्थित कराटोआ नदीमा आइतबार दिउँसो डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको यस क्षेत्रमा भएको दुर्घटनामा २५ यात्रु हराइरहेका छन्। स्थानीय प्रहरीका अनुसार बोदा क्षेत्रस्थित कराटोआ नदी किनारमा रहेको हिन्दू मन्दिरबाट फर्कने क्रममा डुंगामा सवार यात्रुहरू दुर्घटनामा परेको हो। स्थानीय र उद्धारकर्मीहरूले आइतबार साँझसम्म २४ जनाको शव नदीबाट निकालेको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमध्ये १२ जना महिला र ८ जना बालबालिकाहरू रहेको बताइएको छ। डुंगा पल्टिँदा कतिपय यात्रुहरू भने पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए। १० जनाको जीवीत उद्धार गरिएको थियो। मुस्लिम बाहुल्य बंगलादेशमा हरेक वर्ष बोदेश्वरी मन्दिरमा तीर्थालुहरूको भीड लाग्ने गर्छ। सोमबार घटस्थापनादेखि देवीको पूजापर्व नवरात्र सुरु हुँदैछ।





