चीनको ४२ तले गगनचुम्बी भवनमा आगलागी

नवलपुर टुडे
२०७९ भदौ ३१ | मध्यान्ह ०९:०५ बजे

चीन, भदौ ३१ । मध्य चीनस्थित च्याङ्सा सहरमा रहेको एउटा ४२ तल्ले गगनचुम्बी भवनमा आगलागी भएको छ ।
‘लोटस गार्डेन चाइना टेलिकम’ नामक भवनमा आज स्थानीय समय दिउँसो ३.४८ बजे आगलागी भएको थियो । हुनान अग्निनियन्त्रक विभागका अनुसार आगो निभाउन १७ वटा केन्द्रका ३६ दमकल र २८० अग्निनियन्त्रकहरु प्रयोग गरिएको थियो ।
आगजनी साँझ ५ बजेसम्म नियन्त्रणमा आइसकेको भए पनि दमकलले उद्धार कार्य जारी राखेको थियो । आगो निभ्दासम्म कुनै हताहति पाइएको थिएन । सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोहरूमा सयौं मिटर टाढाबाट पनि धुवाँको मुस्लो देखिन्छ ।
सन् २००० मा निर्माण पूरा हुँदा यो २१८ मिटर अग्लो भवन च्याङ्शाको सबैभन्दा अग्लो भवन थियो । भवनमा जमिनभन्दा माथि ४२ तला र भूमिगत दुई तला छन् । एजेन्सी





