दाङमा डेंगी संक्रमणबाट एक महिलाको मृत्यु


दाङ, भदौ २७ । दाङमा डेंगीको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका – १४ निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो ।
उनको सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार डेंगी संक्रमित बिसी सोमबार बिहान करिब ८ बजेतिर उपचारका लागि प्रतिष्ठानमा आएकी थिइन् । उनी भर्ना भएको डेढ घन्टाभित्रै मृत्यु भएको भट्टराईले बताए ।
त्यसअघि बिसीको ल्याब टेष्ट गर्दा डेंगी पोजेटिभ देखिएको थियो । उपचारको क्रममा एकाएक अक्सिजन लेबल घटेको र प्रेसर बढेपछि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय जिल्लामा डेंगी संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
प्रतिष्ठान प्रशासनले दैनिक ५ जनासम्म डेंगी पोजेटिभका बिरामीहरु उपचारका लागि आउने गरेको जनाएको छ ।





