स्रोत नखुलेको नेपाली रुपैयाँ ७२ लाखसहित एक युवक पक्राउ

नवलपुर टुडे
२०७९ भदौ २७ | मध्यान्ह ०६:०५ बजे

रुपन्देही, भदौ २७ । नेपाल–भारत सीमा सुनौलीबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ७२ लाखसहित एक युवक पक्राउ परेका छन् । सोमबार बिहान करिब १० बजेतिर भारतबाट नेपाल आउँदै गरेको अवस्थामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारलाई भारतीय सुरक्षाकर्मीले उक्त रकमसहित पक्राउ गरेको हो ।
कारमा भारतबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले दशगजा क्षेत्रमा संयुक्त चेकजाँच गर्दा सुनारको साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली पुलिस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले बताए ।
पक्राउ परेको सुनारलाई नियन्त्रणमा लिई भारतीय कस्टम, सुरक्षा निकायका अधिकारीहरूले सोधपुछ गरिरहेका छन् ।





