स्वास्थ्य

    ह्वात्तै बढे डेंगुका बिरामी, टेकु अस्पतालको प्यासेजमै राखेर उपचार

    नवलपुर टुडे
    २०७९ भदौ २१ | मध्यान्ह ०३:०५ बजे

      काठमाडौँ, भदौ २१ । डेंगुको संक्रमण बढेसँगै राजधानीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको चाँप अत्यधिक बढ्न थालेको छ ।

      अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी हुने गरेको अस्पतालले जनाएको छ । मनसुन सुरू भएसँगै राजधानीमा डेंगुको संक्रमण बढ्न थालेको हो । बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर कोरिडोरमा ५ बेड थप गरेको छ ।

      अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार हाल डेंगुका बिरामी १५ जना जनरल वार्ड, ६ जना क्याबिन र ५ जनाको आईसीयूमा उपचार भइरहेको छ जसमा १ जनाको अवस्था गम्भीर छ ।उनले जनरल वार्डमा १२ बेड भने अहिले खाली रहेको बताए । हाल टेकु अस्पतालमा दैनिक डेंगु क्लिनकमा आउनेको संख्या २०० भन्दा बढी छ ।

      अचानक टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता आउने लगायतका डेंगुका लक्षण हुन् । पछिल्लो रिपोर्टअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी झण्डै २३०० जनामा डेंगु पुष्टि भएको छ ।

        कमेन्टहरु