सर्लाही ४ बाट गगन थापाको एकल नाम सिफारिस


काठमाडौं, भदौ २० । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिफारिस भएका छन् । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो ।
सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमिति बैठकले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए । “आज हामी बैठक बसेर उहाँलाई एकल सिफारिस गरेका हौँ । जनताको अत्याधीक माग भएपछि उहाँलाई सिफारिस गरिएको हो,” सभापति सिंहले भने ।
तर, थापाको सचिवालयले भने आफूहरुसँग छलफल र सल्लाह नगरी उमेदवार सिफारिस गरिएको जनाएको छ । थापा भने काठमाडौं ४ बाटनै चुनाव लड्ने सचिवालयले जानकारी दिएको छ । यसअघि थापाको नाम कास्की क्षेत्र नम्बर १ बाट पनि सिफारिस भएको थियो ।





