पर्यटनमन्त्री श्रेष्ठलाई अभद्र व्यवहार गर्ने सुरक्षागार्ड पक्राउ


काठमाडौ,भदौ १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइन बस्नुस्’ भन्ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन्।
शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए। तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनाली यस अनलाईनलाई जानकारी दिए । उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको उनले बताए।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार पक्राउ पर्नेमा ‘गरूड सेक्युरिटी’का छायाँ सेन्टरमा कार्यरत शेरजंग गुरूङ रहेका छन्। अनुसन्धान अधिकारीका अनुसार पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए। निजी सुरक्षा अधिकृत (पीएसओ) सहित गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा सेक्युरिटी गार्डले रोकेका थिए।
पीएसओले उनी मन्त्री भएको बताएका थिए। तर, सुरक्षागार्ड श्रेष्ठले भने ‘जो भए पनि लाइनमा आउनुस्’ भनेका थिए।





