देश

    रुपन्देहीमा दुई वर्षअघि प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

    नवलपुर टुडे
    २०७९ भदौ १८ | बिहान ११:०५ बजे

      रुपन्देही, भदौ १८ । दुई वर्षअघि रुपन्देहीको सालझण्डीस्थित फायरलाइन जंगलमा आफ्नी प्रेमिकाको हत्या गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।

      २०७७ साल फागुन १० गते गुल्मी अर्खवाङ घर भई रुपन्देहीको तिलोत्तमा बस्ने वर्ष ३४ की बसन्ती भनिने धनकुमारी अर्यालको हत्या गर्ने कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ जहभारी बस्ने ३६ वर्षिया काशीराम मुराउ पक्राउ परेका हुन् ।

      अनैतिक सम्बन्धका कारण मृतक अर्यालको पेटमा गर्भ बसेपछि काशीरामले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।

      प्रहरीका अनुसार मृतक अर्याललाई मुराउले घाँटी थिचेर हत्या गरी जंगलमा रुखमा बाँधेर छोडेका थिए । उनको शव गाईबाख्रा चराउने स्थानीयले गलिसकेको अवस्थामा फेला पारेर ईलाका प्रहरी कार्यालय सालझण्डी प्रहरीलाई खबर गरेका थिए । त्यतिबेला उनको सनाखत नै हुन सकेको थिएन ।

      प्रहरीले अनुसन्धान गर्ने क्रममा बुवाबाट महिलाको शव सनाखत भएपछि मुराउले नै छोरीको हत्या गरेको भनी प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले मुराउलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मरासिनीले बताए ।

        कमेन्टहरु