भाँसिएको सडकमा पुन: पहिरो, पाल्पा – बुटवल सडक खण्ड अबरुद्ध


पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–५, हिउँदेखोलामा पुन: पहिरो खसेको छ । बिहीबार रातिदेखिको वर्षाले भासिएको सडकमा बनाइएको नयाँ डाइभर्सनमै पहिरो खसेको छ । सडक डिभिजनका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार रातभरको मिहिनेत खेर जानेगरी पहिरो खसेको छ । डाइभर्सन निर्माणको कामलाई तीव्रता दिन वर्षाले अवरोध गरेको उनले बताए । ‘अविरल वर्षासँगै तल्लो भागमा भासिने र माथिल्लो भागबाट पहिरो खस्ने भएर काम गरेको नगरेको उस्तै भएको छ,’ उनले भने, ‘डाइभर्सन निकालेर शुक्रबार दिउँसोसम्म सवारी सञ्चालन गर्ने योजनामा पहिरोले समस्या ल्याएको छ ।’
रातिदेखि सवारी साधन रोकेर डाइभर्सनको काम गरेको थियो । दुई वटा एक्सकाभेटर प्रयोग गरेर विपरीत क्षेत्रबाट काम गरेको उनले बताए । बिहीबार राति १० बजेबाट नयाँ डाइभर्सन निर्माणको काम सुरु भएको थियो । एकतर्फी सवारी साधन पास गराउनका लागि डाइभर्सन निर्माण सम्पन्न हुने समयमा वर्षाले गर्दा पहिरो खसेको छ । पहिरो खस्ने र पानी पर्ने भएपछि साना सवारी साधनसमेत सञ्चालन हुन सकेको छैन । नयाँ खोलिएको सडक समेत हिलाम्मे भएकाले ग्राभेलको सामग्री नराखिकन सवारी साधन सञ्चालन हुन नसक्ने सूचना अधिकारी लम्सालले बताए ।
राजमार्गमा बिहीबार अपराह्न साढे ३ बजे ४० मिटर सडक सवारी साधन सञ्चालन गर्न नमिल्नेगरी भासिएको थियो । ठूला सवारी साधन सञ्चालनमा भएको समस्याले कारण यात्रु अलपत्र छन् । हिउँदेखोलाको माथिल्लो भागमा चुनढुंगा खानी सञ्चालनमा छ । पछिल्लो समयमा अत्यधिक भार बोकेका सवारी साधन सञ्चालन हुनेगर्छ ।
यस क्षेत्रमा सात वर्षअघि पनि सडक भासिएको थियो । राजमार्गमा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी साधन हिउँदे खोलामै रोकिएका छन् ।
सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन् ।





