लमजुङमा दुई थान अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ


लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्वोहोलासोथर गाउँपालिका – ८ घाम्राङ घर भइ वडा नम्बर ९ साल्मे बस्ने बर्ष २७ का यम बहादुर राना मगर रहेको छ । उनलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक धम्की दिने गरेको भन्ने विषेश सुराकको आधारमा प्रहरी टोलीले मंगलबार १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राना मगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा बुधबार सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।
निर्वाचन नजिकीएसँगै प्रहरीले अवैध रुपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको परिच्छेद ६ अनुसार हातहतियार तथा खरखजना सम्वन्धी कसुरमा उत्पादन र निर्माण गरेको पाइएमा १० बर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
यस्तै सञ्चय, विक्री वितरण गरेको पाइएमा ७ बर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना र इजाजत बिना हातहतियार लिई हिंडेको पाइएमा ५ बर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।





