रसायनिक मल कालोबजारी आरोपित कुशवाहा पक्राउ


कलैया १४ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले कालोबजारी मुद्दामा अरूण कुशवाहालाई पक्राउ गरेको छ । गत सोमवार बिहान ८ बजेको समयमा कलैया उप-महानगरपालिका वडा नम्बर २३ कोइरिया टोल निवासी अरूण कुशवाहालाई बारा प्रहरीले कालोबजारी मुद्दामा पक्राउ गरेको हो ।
कलैया उप-महानगरपालिका वडा नम्बर २३ स्थित संचालनमा रहेको श्री कुश कृषि सहकारी संस्थाले नेपाल सरकारबाट कृष्कहरूलाई सहुलियत दरमा बिक्री गर्नको लागि अनुदानमा खरिद गरि ल्याएको मलखादहरू बढी मुनाफा लिइ बिक्री बितरण गरिरहेको आरोपमा कुशवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी कार्यालय बाराले प्रेस बिज्ञप्ती जारी गर्दै बाराको महागढिमाई नगरपालिका वडा नम्बर २ मैनि टोल बस्ने गगनदेव प्रसाद कुशवाहाले उक्त सहकारीमा मलखाद खरिद गर्न जादा १ बोरा डिएपी मलको दुइ हजार ८ सय रूपैया लिएको बिज्ञप्तीमा उल्लेख छ ।
श्री कुश कृषि सहकारी संस्था लि.का संचालक अरूण कुशवाहाले कालोबजारी गरेको उजुरीको आधारमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । उजुरी पर्नसाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलिले उक्त गोदामबाट ११८ बोरा डिएपी मल, २९ बोरा युरिया, ६१ बोरा पोटास, खेति शक्ति मल लेखिएको फसफेट १ बोरा र खुल्ला अवस्थामा रहेको युरिया मल ३८ किलो, डिएपी मल २७ किलो र पोटास मल २५ किलो बरामद भएको बारा प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा सहकारी संस्थाका संचालक अरूण कुशवाहालाई समेत हिरासतमा राखि पहिलो पटक १० दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ ।





