लागूऔषध मुद्दामा निर्दोषलाई फसाएको आरोपमा योजनाकार अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) लाई कार्बाहीको माग


नवलपरासी । पश्चिम नवलपरासीमा लागूऔषध मुद्दामा निर्दोष व्यक्तिलाई फसाएको भन्दै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले घटनाको सत्यतथ्य छानबिन गरि मुख्य योजनाकारका आरोप लागेका पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) र उनका सहयोगीलाई पत्रकार सम्मेलन गरी कार्बाहीको माग गरेका छन् ।
कांग्रेस र जसपाले पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले व्यक्तिगत व्यवसायको लेनदेनमा कुरा नमिलेपछि गुप्ता र पासवानलाई फसाएको आरोप लगाएको हो । गुप्ताका परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले शनिबार परासीमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष गुप्ताकै योजनामा सुनवलको भुमहीमा बस्दै आएका कवाड व्यवसायी भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका गुप्ता र पासवानलाई फसाएको दावी गरेका हुन् ।
कारोबारको कुरा गर्न बोलाएर गुप्ताको योजनामा प्रहरी प्रशासनको सहयोगमा निर्दोष व्यक्तिलाई फसाएको कांग्रेसका जिल्ला सदस्य राजेन्द्र सहानीले बताए । गाउँपालिका अध्यक्ष गुप्ताको योजनामा उनका सहयोगीले प्रहरीलाई बोलाई रामग्राम नगरपालिका – १७ पिपरहियाबाट भारत मोतिहारी घर भएर जिल्लाको भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जितेन्द्र पासवानलाई लागूऔषध ओसारपसार गरेको भन्दै गत असार २२ गते पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर मुद्दा चलाईरहेको छ ।
‘गाउँपालिका अध्यक्षसंग १३ करोडको कारोबार गरेका थियौं, कारोबारको २० प्रतिशत नाफा हामीले पाउने सहमति थियोे’, पीडितका सालो साहले भने, ‘हामीले पाउनुपर्ने एक करोड ३० लाख रकम नदिन अध्यक्षले धेरै समय आलटाल गरेका थिए, त्यो दिन पिपरहियामा बोलाए, पैसा दिने होला भनेर गएको भिनाजुलाई फसाउन रहेछ ।’ साहले एक करोड ३० लाख पचाउन अध्यक्ष गुप्ताको बिशेष योजनामा उनको सहयोगी र प्रहरी प्रशासन मिलेर फसाएको बताए ।
निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका दुवै युवक डेढ महिनादेखि प्रहरी हिरासतमा छन् । प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगी धोबीलाई पनि पक्राउ गरेको छ ।
मुख्य योजनाकारको आरोप लागेका बैजुप्रसाद गुप्ता(दिपक) माओबादी केन्द्रबाट पाल्हिनन्दन गाउँपालिकाका निर्वाचित अध्यक्ष हुन । घटनाको बास्ताबिक्ता बुझ्न पटक पटक सम्पर्क गर्न खोजेपनि सम्पर्क हुन सकेन ।





