काठमाडौ र भक्तपुरबाट नक्कली मदिरा बेच्ने पाँच जना पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।
विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्राण्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले भदौ पाँच गते कोटेश्वर क्षेत्रमा नक्कली मदिरा बिक्री वितरण गरेको सूचना पाएको आधारमा तत्काल प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभात कोटेश्वरबाट विशेष प्रहरी परिचालन गरी हरि वलीसहित पाँच जनालाई पक्राउ गरेको बताए । उनले नक्कली मदिरा बनाएर बच्नेमा दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन् ।
उनीहरुले स्वदेशी मदिरामा थोरै विदेशी मिसाएर बोतलमा हालेर विभिन्न नाइट क्लब, लञ्च, डिक्सको, विभिन्न मदिराका डिलर, दोहोरी र डान्सबारमा बिक्री वितरण गर्ने गरेको भेटिएको एसएसपी बोहोराले बताए । उनले स्वदेशी मदिराको अन्तःशुल्क स्टिकर झिकेर बोतलमा लगाएर बेच्ने गरेको पनि पाइएको बताए । उनले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा भगवान बस्नेतले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको बताए ।
ती व्यक्तिहरुले सञ्चालन गरेको फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभल, रेड लेभल, खुकुरी रम र भोड्कालगायत मदिरा बरामद भएको पनि उनले जानकारी दिए । नक्कली मदिरा बनाएर बेच्ने पाँचै जनालाई कालोबजारी तथा सामाजिक अपराध सजाय ऐनअन्तर्गत कसुरमा जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट ७ दिनको म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको प्रमुख बोहोराले बताए ।





