लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेश मदरसा बोर्डको उपाध्यक्षमा मौलाना मशहुद खां सिफारिश

    नवलपुर टुडे
    २०७९ भदौ १ | मध्यान्ह ०५:०५ बजे

      बुटवल, भाद्र १ । लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका मसहुद खाँलाई मनोनयन गर्ने निर्णय गरेको छ । मौलाना मशहुद खां नेपाली लामो समयदेखि मदरसाको हकहित तथा संरक्षण व्यवस्थापन सम्बन्धि काम गर्दै आएका छन् । पहिला पनि लुम्बिनी प्रदेश मदरसा बोर्डको उपाध्यक्ष भएर काम गरिसकेको अनुभव रहेको उनी निकट स्रोतले जनाएको छ ।

      बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा हेरफेर सम्बन्धी ऐन संशोधनका लागि सूचना स्वीकृत गर्ने निर्णय समेत गरेको छ । सरकारका प्रवक्ता आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले मुख्यमन्त्री र मन्त्रीको तलब सुविधा बढाउन नभइ सरकारले नियुक्त गर्ने विज्ञहरुको तलब सुविधाका लागि ऐन संशोधन गर्न लागिएको बताए ।

      बैठकले लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्को संगठन संरचना र दरबन्दी स्वीकृत, आइसोलेसन अस्पतालहरुको सेवा निरन्तरता र अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद २०७९ भाद्र मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । यस्तै जग्गा एकीकरण सम्बन्धी नियमावली, २०७९ को नियम ४ बमोजिमको उच्चस्तरीय निर्देशक समितिमा विज्ञ सदस्यहरुको सेवा सुविधा निर्धारण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

      यस्तै आर्थिक वर्ष २०७८÷७९ मा आर्थिक दायित्व सिर्जना भई भुक्तानी क्रममा सरकारी लेखा प्रणालीमा आएको समस्याको कारणले भुक्तानी दिन नसकिएको भनी लेखा उत्तरदायी अधिकृतबाट सिफारिस भएको अवस्थामा प्रदेश लेखा नियन्त्रक कार्यालय र सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयहरुले भुक्तानी दिन बाँकी विवरण प्रमाणित गरी दिन स्वीकृत प्रदान गर्ने, प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (तेस्रो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने र हवाई उद्दार सम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

        कमेन्टहरु