पवन माविको भवन निर्माणमा अनियमितता भएको आरोप, वडा कार्यालयले सुचना माग्दा पनि पाएन सुचना


सुरेश यादव
नवलपरासी, भदौ १ । पश्चिम नवलपरासीको एक वडा कार्यालयलाई विद्यालयले नटेरेपछि सुचना माग्न सुचनाको हक नै प्रयोग गर्न परेको छ । यो घटना जिल्लाको रामग्राम नगरपालिका – २ को हो ।
रामग्राम नगरपालिका – २ को वडा कार्यालयले अध्ययन प्रयोजनका लागि वडामा संचालित पवन माविसँग मौखिक रुपमा विभिन्न सुचना माग गरिरहदा विद्यालयले नटेरेपछि सुचनाको हक प्रयोग गरि चिठी नै काट्न परेको वडा अध्यक्ष निरज रौनियारले जानकारी दिए । उनका अनुसार पटक पटक विद्यालयसँग मौखिक रुपमा सुचना माग गर्दा विद्यालयले चाँसो नदेखाएपछि सुचनाको हक सम्बन्धि २०६४ को दफा ३ नै प्रयोग गरि यहि श्रावण २ गतेको मितिमा सुचना मागेको पनि आज करिब १ महिना हुनु लाग्दा पनि अझैसम्म वडालाई विद्यालयले सुचना दिएको छैन ।
पवन माध्यमिक विद्यालयमा ४ कोठे २ तल्ले निर्माण भएको भवनमा व्यापक अनियमितता भएको स्थानियले आरोप लगाएपछि वडा अध्यक्ष निरज रौनियारले सो विषयमा जाँचबुझ गर्नका लागि २०७४ देखि ०७७ सम्मको विद्यालय व्यवस्थापन समितिको निर्णय, भवन सम्बन्धित टेण्डर प्रकृया र भवन निर्माणको खर्च बिल भरपाई तथा ईस्टिमेटहरु माग गरेका थिए । तर हालसम्म विद्यालयले वडा कार्यालयलाई नै अटेरी गर्दै उक्त विषयका सुचनाहरु उपलब्ध नगराएपछि विद्यालय विरुद्ध अब सुचना आयोगमा उजुरी दिने वडा अध्यक्ष रौनियारले बताए ।
यता भवन निर्माण समितिका संयोजक बिन्द्रेस हरिजनले पनि विद्यालयले अझैसम्म भवन निर्माणमा कति खर्चहरु भयो सो विषयमा आफुलाई पनि कुनै जानकारी नदिएको गुनासो पोखे । उनले भने ‘भवन निर्माणका लागि करिब ३६ लाख रुपैया बजेट आएको थियो, भवन निर्माणका लागि भवन निर्माण समिति बन्यो र भवन निर्माणका लागि कोटेशन आव्हान गरि एक फर्मसँग सम्झौता गरि काम शुरु गरियो तर केहि दिनपछि उक्त फर्मले सामानहरुको मुल्य बढयो, घाटा लाग्दै छ भनि काम गर्न ईन्कार गरेपछि विद्यालयले मलार्ई माईन्स गर्दै त्यो सम्झौता रद्द सिद्धै सामानहरु खरिद गरि काम गर्ने निर्णय गर्यो ।’
विद्यालयको भवन निर्माणमा व्यापक अनियमितता र कोटेशन प्रकृया अवैध रहेको वडा अध्यक्ष निरजले आरोप लगाउदै उक्त विषयमा छानबिन गर्न ति सुचनाहरु माग गरेकाले विद्यालय सुचना दिन अटेरी गर्दै आएको वडा अध्यक्षले बताए ।





