देश

    रुपन्देहीमा एक हजार रुपैयाँ चोरी गरेको आरोपमा कुटेर पत्नीको हत्या, पति पक्राउ

    नवलपुर टुडे
    २०७९ साउन १२ | मध्यान्ह ०८:०४ बजे

      बुटवल, साउन १२ । रुपन्देहीमा पैसा चोरी गरेको भन्दै एक व्यक्तिले आफ्नै पत्नीको कुटेर हत्या गरेका छन् । बिहीबार बिहान कञ्चन गाउँपालिका-१ डेलरका ३३ वर्षीय यमबहादुर थापा क्षेत्रीले एक हजार रुपैयाँ चोरी गरेको भन्दै ३१ वर्षीया श्रीमती सावित्री थापा क्षेत्रीको कुटेर हत्या गरेका हुन् ।

      हत्याको आरोपमा पति यमबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझन्डीका अनुसार यमबहादुरले अघिल्लो दिन साँझ मादक पदार्थ सेवन गरेर आएपछि उनका पत्नी सावित्रीले पनि एक हजार रुपैयाँको रक्सी खाएर रातको समयमा घर आई सुतेकी थिइन् । सावित्री भुइँमा सुतिरहेको बेला बिहान करिब २ बजे यमबहादुर उठेर पैसा गन्दा एक हजार कम देखिएपछि उनले पत्नीलाई उठाएर पैसा नसोधी लगेको भन्दै कुटपिट गरेका थिए ।

      बिहीबार बिहान सावित्री मृत अवस्थामा भेटिएको भन्ने खबर पाएपछि घटनास्थल पुगेका प्रहरी टोलीले उनको टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू र कोठामा रगतका छिटाहरू भेटिएको साथै शरीरका विभिन्न भागमा निलडामहरूसमेत देखेपछि पति यमबहादुरलाई पक्राउ गरेको हो । उनीमाथि ज्यानसम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु