अर्थ

    ‘दिनको ४३२ मेगावाट विद्युत् बेच्न सकिन्छ’

    नवलपुर टुडे
    २०७९ साउन ५ | मध्यान्ह ०१:०४ बजे

      काठमाडौं । नेपालले सन् २०२२/२३ मा भारतलाई औसतमा १० हजार ३ सय ८३ मेगावाट विद्युत् बेच्न सक्ने पाइएको छ। यो प्रतिदिन ४३२ मेगावाट हुन आउँछ। हाल वर्षायाममा ३६४ मेगावाटसम्म भारतमा बिजुली निर्यात हुँदै आएको छ।

      नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपण अनुसार थप करिब ६८ मेगावाट गरी औसतमा ४३२ मेगावाट प्रतिदिन विद्युत् निर्यात गर्नुपर्छ। भारतमा विद्युत् निर्यातको प्रसस्त सम्भावना भएको प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक प्रवल अधिकारीले बताए।

      यूएसएड अन्तर्गतको ऊर्जा नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिकारीले हाल चिनसँग विद्युत् व्यापारको द्विपक्षीय समझदारी भई नसकेकाले भारत नै प्रमुख बजार भएको स्पष्ट पारे। भारतले सन् २०३० सम्ममा ५ लाख मेगावाट विद्युत् उत्पादन क्षमता वृद्धि गर्दै १ बिलियन टन कार्बन उत्सर्जन घटाउने भनेको छ। सन् २०७० सम्ममा नेट जिरो कार्बनको लक्ष्य लिएको छ।

      यस कारकण पनि नेपालको थप बिजुली भारत निर्यात हुन सक्छ। अहिले वर्षायाममा मात्र नेपालले भारतलाई बिजुली बेच्दै आएको छ। करिब ५ महिना भारतलाई बिजुली बेचे पनि बाँकी महिना भारतबाट बिजुली आयात गरिँदै आएको छ। प्राधिकरणको तथ्यांकअनुसार हाल कुल जडित क्षमता २ हजार १९० मेगावाट छ। चालू आर्थिक वर्षमा थप ८ सय मेगावाट राष्ट्रिय प्रसारणमा जोडिदैछ।

      प्राधिकरणले ४ वर्षमा २ हजार ४५६.४ मेगावाट बिजुली निर्यात गर्ने प्रक्षेपण गरेको छ। हाल वर्षायाममा ३६४ मेगावाटको बिजुली निर्यातको भारतसँग सम्झौता गरेको प्राधिकरणले ५ गुणाभन्दा बढीले निर्यातको अनुमान गरेको हो। हाल विद्युत्को उच्च माग भएको समयमा करिब ६० मेगावाट विद्युत् आयात गर्दै आइएको छ। हालसम्मको उच्च माग १८३९.९ मेगावाट रहेको छ। साभार अन्नपूर्ण पोष्ट

        कमेन्टहरु