लुम्बिनी प्रदेश

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले र कांग्रेसको विवादले बजेट नै अलपत्र

    नवलपुर टुडे
    २०७९ असार ३२ | बिहान १०:०३ बजे

      बुटवल । नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिको इगोका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट अलपत्र परेको छ । नगर प्रमुख रामकृष्ण खाँणले फर्जी माइन्यूट तयार गरी गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको एमालेको आरोप छ ।

      जसका कारण तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन । पटक पटक सर्दै आएको नगरसभाको बैठक शुक्रबारका लागि बोलाइएको थियो । बैठकमा नगरप्रमुखले बजेट पारित गर्ने कार्यसूची मात्र पेश गरेका थिए । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले बजेटका साथै न्यायिक समिति लगायत चारवटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न गरेको आग्रह नगरप्रमुखले अस्वीकार गरेका थिए । नगरसभा बैठकको माइन्यूटमा ८८ जनाको हस्ताक्षर भएकोमा नगरप्रमुख खाँडले नगरसभाको हल बाहिर छुट्टै फर्जी माइन्यूट खडा गरी ४१ जनाको हस्ताक्षर गराएर गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिइन् ।

      ‘नगरसभाले गठन गर्नुपर्ने विषयगत समितिहरुलाई बेबास्ता गर्ने गरी वैधानिक व्यवस्था विपरित अघि बढ्न खोज्दा सिंगो नगरपालिकाको काममा असर पर्न सक्छ’उनले भनिन् । असार १० गते उपप्रमुख चौधरीले नगरसभामा बजेट प्रस्तुत गरेपछि त्यसका लागि छलफल तथा पारित गर्न असार २१ गते नगरसभाको बैठक आह्वान गरिएको थियो ।

      तर, उक्त बैठक सूचना टाँसेर असार २६ गतेका लागि सारिएको थियो । उक्त दिनको बैठक पनि स्थगीत गरी शुक्रबारका लागि सारिएको थियो । यसअघि असार २८ गतेको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चारवटा विषयगत समिति नगरसभाले पारित गर्नुपर्ने वैधानिक व्यवस्था भएकाले बजेट पारित गर्ने दिन यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए । नगरसभामा ८८ जनाको हस्ताक्षर हुँदाहुँदै नक्कली माइन्युट खडा गरेर नगरसभा स्थगित गर्नु दुर्भाग्यपूर्ण रहेको नगर कार्यपालिकाका सदस्य सुरेन्द्र श्रीले बताए ।

      ‘९१ सदस्यीय नगरसभामा ८८ जनाको हस्ताक्षर छ, तर नगरप्रमुखले विषयगत समिति गठन नगर्ने मनसायका साथ नक्कली माइन्यूट खडा गरेर नगरसभा नै स्थगीत गर्नु निकै चिन्ताजनक र दुर्भाग्यपूर्ण कुरा हो, यसमा हाम्रो गम्भीर असहमति छ’उनले भने । यस विषयमा प्रतिक्रियिा लिन खोज्दा नगरप्रमुख खाँडले भने पटक पटकको फोन सम्पर्कको प्रयासमा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

      photo 2022 07 16 10 27 26photo 2022 07 16 10 27 30photo 2022 07 16 10 27 33

        कमेन्टहरु