जुम्लामा लघु जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवार तीन जनाको मृत्यु


जुम्ला, असार ३१ । जुम्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् । उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए । गएराति चौकीदार गाउँतिर गएका थिए । सोही बेला ठूलो पानी परेको र मुख्य कुलोमा घाँस दाउरा जम्मा भएर एक्कासी फोर्सले पानी आउँदा घर भासिएको हो ।
घटना राती नै भए पनि स्थानीय गाउलेले ४ बजे मात्र थाहा पाएका थिए । जानकारी पाउनासाथ प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी राती नै घटनास्थलमा पुगेको थियो । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको छ ।





