भ्रमणका लागि प्रचण्ड आज भारत जाँदै


काठमाडौं, असार ३१ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी भारत जान लागेका हुन् ।
दाहाल दिउँसो १ बजे नयाँदिल्लीतर्फ प्रस्थान गर्ने बताइएको छ । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने छन् । भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ । भेटवार्तामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ ।
तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्डले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको तयारी रहे पनि त्यो निश्चित नभएको बताइएको छ । दाहाल भ्रमण सकेर आइतबार स्वदेश फर्किने छन् ।





