रुपन्देहीमा परिवारकै कुटपिटबाट एक पुरुषको मृत्यु, ५ जना नियन्त्रणमा

नवलपुर टुडे
२०७९ असार २९ | मध्यान्ह ०३:०३ बजे

बुटवल, असार २९ । रुपन्देहीको गैडहवा गाउँपालिका – १ बगियामा परिवारको कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । घरमा आर्थिक लेनदेनको विषयमा विवाद हुँदा कुटपिटबाट ३० वर्षीय महेश भरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटको घटनामा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भरसहित परिवारका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा मृतक भरकी श्रीमती पनि घाइते भएकी थिइन् । कुटपिटबाट घाइते भएका महेशको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सूर्यपुरले कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।





