देश

    उपत्यकाको तीन जिल्लामा बुधबारदेखि अनलाइनबाट मतदाता नामावली संकलन गरिने

    नवलपुर टुडे
    २०७९ असार २८ | मध्यान्ह ०६:०३ बजे

      काठमाडौं, असार २८ । निर्वाचन आयोगले बुधबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको हो ।

      आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार पारेर परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि सुरु गर्ने जनाएको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाईनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाईटमा गई व्यक्तिगत विवरण भरि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा अनलाईनबाटै आवेदन पेश गर्न सक्नेछन् ।

      त्यसपछि अनलाईन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

        कमेन्टहरु