देश

    छुरी प्रहार गरी घाइते बनाएको आरोपमा एक पक्राउ

    नवलपुर टुडे
    २०७९ असार २८ | मध्यान्ह ०४:०३ बजे

      काठमाडौं, असार २८ । काठमाडौंमा छुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी गाउँपालिका-४ घर भई हाल थली बस्दै आएका २७ वर्षीय दिपेश शाक्य रहेका छन् ।

      शाक्यले गत शनिबार राति पौने ११ बजे सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-१४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-५ थली पिपलबोट बस्दै आएका २५ वर्षीय राजन श्रेष्ठमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

      घटना भएको खबर पाएलगत्तै प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शाक्यलाई आइतबार अपराह्न ५ बजेतिर पक्राउ गरेको हो । घाइते भएका श्रेष्ठलाई भने उपचारको लागि अस्पताल पठाइएको थियो । प्रहरीले शाक्यको कोठाबाट घटनामा प्रयोग भएको २४ सेन्टिमिटरको छुरी र छुरी लुकाइएको सिरानीको खोल प्रहरीले बरामद गरेको छ ।

      प्रहरीले शाक्यमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूर अन्तर्गतको ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ । काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएर प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाएको हो ।

        कमेन्टहरु