महावीर पुनलाई ‘गण्डकी रत्न’, अनुसन्धान केन्द्रका लागि गण्डकी प्रदेशले छुट्याइयो १० करोड


कास्की, असार २७ । गण्डकी प्रदेश सरकारले महावीर पुनलाई ‘गण्डकी रत्न’बाट विभूषित गरेको छ । सोमबार पोखरामा आयोजित एक कार्यक्रमबीच प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुनलाई सम्मान गरेका हुन् ।
प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने घोषणा गरेको थियो । तर सरकारको वार्षिकोत्सवको दिन पुन मुलुक बाहिर भएकाले सम्मान रोकिएको थियो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा कार्य गर्दै आएका छन् । उनी यसअघि रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
विभूषण ग्रहणपछि पुनले अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरू समृद्ध भएको बताए । अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको बताउँदै उनले युवाहरू रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको बताए । अनुसन्धान र विकासका लागि ढिला गर्न नहुने उनको भनाई छ ।
अनुसन्धान आफैंमा कठिन काम भएकाले १ सयवटा अनुसन्धानमध्ये १०/१५ वटा मात्र सफल हुने भएकाले शतप्रतिशत नतिजा आउन नसक्ने पुनले बताए । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्त्वपूर्ण योगदान पुर्याउन सफल भएको भन्दै प्रशंसा गरे ।
यस्तै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । उनले राष्ट्रिय अनुसन्धान केन्द्रका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारीसमेत गराए ।





