मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ४२ जना घाइते

नवलपुर टुडे
२०७९ असार २४ | मध्यान्ह ०४:०३ बजे

संखुवासभा, असार २४ । संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बिकेर फर्किदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ४२ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो मृतकको दाहसंस्कार गरिसकेपछि मलामी बोकेर फर्किएको ट्याक्टर दुम्कटामा दुर्घटना हुँदा मलामी गएका गंगाबहादुर तामाङ र केशव कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । को २ त ३९६१ नम्बरको ट्याक्टरमा सवार ४४ मलामीमध्ये दुईजनाको मृत्यु भएको हो ।
घाइतेहरुलाई उपचारका लागि तुम्लिङटारस्थित मनकामना अस्पताल र जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । दुर्घटनापछि चालक मोहनकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।





