पर्सामा ठूलो परिमाणमा गाँजा बरामद


वीरगन्ज । पर्सा प्रहरीले भारतीय नम्बर प्लेटको ट्रकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाको नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका-२१ परवानीपुर सडक खण्डमा यूपी २१ एन ९९५७ नम्बरको भारतीय ट्रकलाई जाँच गर्दा २ सय ७० केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार बिहीबार बिहान साढे ८ बजेको समयमा प्रहरीले उक्त नम्बरको ट्रक जाँच गर्दा चालक बस्ने क्याबिनमा फ्लस बटम बनाई २ सय ७० केजी गाँजा लुकाएर राखिएको अवस्थामा बरामद भएको हो ।
ट्रक चालक भारतको बिहार पलडवा निवासी ५० वर्षीय धर्मेन्द्र यादव र बिहार मोतीहारी सेमरीका २७ वर्षीय सहचालक विजेशकुमार यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको छ । ‘विशेष सूचनाको आधारमा दुई सय ७० केजी गाँजा बरामद भएको छ,’ एसपी बस्नेतले भने, ‘लागूऔषध गाँजाको कारोबारमा संलग्न रहेकाहरूको अनुसन्धान गरिरहेका छौं ।’ दुई दिनअघि मंगलबार मात्र प्रहरीले यूपी ७० बीके ९९५५ नम्बरको भारतीय नम्बरको कारबाट ९० केजी गाँजा बरामद गरेको थियो ।
वीरगन्ज-२८ बगहीको सडकखण्ड हुँदै गाँजाको कारोबार भइरहेको सूचना आएपछि प्रहरीले जाँचको क्रममा भारतीय नम्बरको कारको डिकी र सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ९० केजी गाँजा बरामद भएको एसपी बस्नेतले जनाए । प्रहरीले कारमा सवारी दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मउ कमलसागर निवासी ३० वर्षीय रविकान्त भारती र विहार बेतिया डाकघर तेलुवा निवासी सुनील भारती रहेका छन् । लागूऔषधसम्बन्धी कसुरमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । साभार : ekantipur





