धनुषामा आलुको बोराभित्र लुकाएर ल्याउँदै गरेको ८३ लाख नेपाली रुपैयाँ बरामद

नवलपुर टुडे
२०७९ असार २१ | मध्यान्ह ०४:०३ बजे

धनुषा, असार २१ । सशस्त्र प्रहरीले आलुको बोराभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डल रहेका छन् ।
मंगलबार धनुषाको सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ आउदै गरेको ज७प ५००७ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा बोरामा स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । बरामद रकममध्ये १ हजारको ७ हजार नोट, ५ सयको २६९९ नोट, १०० को १ सय नोट र ५० को १ सय नोट रहेको छ ।
बरामद गरिएको रकम, मोटरसाइकल र रुपैयाँ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको तयारी गरेको सशस्त्र प्रहरीले जनाएको छ ।





