स्वास्थ्य

    काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा

    नवलपुर टुडे
    २०७९ असार २१ | मध्यान्ह १२:०३ बजे

      काठमाडौं, असार २१ । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए। ती दुवै बालकमा सोमबार हैजा पुष्टि भएको हो।

      योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन्। निर्देशक दासका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो। उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका बताए।

      हैजा तथा झाडापखालाबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ। खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ।

      यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत मन्त्रालयको अनुरोध छ। झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ। रासस

        कमेन्टहरु