दाङमा मोटरसाइकले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई घाइते


रूपन्देही । दाङमा मोटरसाइकलले दुई साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बिहीबार राति पौने नौ बजे घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले सडकमा गुडि रहेका २ वटा साइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी साइकलयात्री घोराही उपमहानगरपालिका – १५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही – १५ कै ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मुकुन्दप्रसाद रिजालका अनुसार घाईते दुई जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार घोराही– ७ का ३८ वर्षीय बसन्त चौधरीको अवस्था गम्भीर छ। चौधरीको नाक, मुख र टाउकोमा गहिरो चोटपटक लागेको रिजालले बताए। उक्त घटनामा घाईते भएका साइकलमा सवार घोराही– १५ का विनोद भण्डारीको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार भई रहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ।





