मोरङमा स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु एक घाइते


मोरङ, असार १४ । मोरङमा आफनै स्कुलको बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको रंगेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले किच्दा एलकेजीमा पढ्ने ५ वर्षीय बालक ऋतिक मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मंगलबार अपरान्ह बसले एलकेजीमा पढ्ने पाँच वर्षीय ऋतिक र सनमकुमारी मण्डललाई किचेको थियो । सनम सख्त घाइते छिन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मृतक ऋतिक रंगेली–७ का महादेव मण्डलका छोरा र घाइते सनम रंगेली–६ नरेश मण्डलकी छोरी हुन् ।
विद्यालय छुट्टी भएपछि बसले विद्यार्थी लिन विद्यालय परिसरमा आउँदै गर्दा दुई बालबालिकालाई किचेको हो । घटनापछि आक्रोशित स्थानीयले विद्यालयका दुईवटा बस तोडफोड गर्दै विद्यालय घेराउ गरेका छन् । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको बताए पनि परिचय भने खुलाएको छैन ।





