कपिलवस्तुको विजयनगरमा कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण


धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत
कपिलवस्तु, असार १४ । कपिलवस्तुको विजयनगरमा कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
विजयनगर गाउँपालिकाले सबैमा समता हुनुको साथै शिक्षामा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले यो अभियान संचालनमा ल्याएको शिक्षा शाखा अधिकृत हरिहर बेल्बासेले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले पालिका भित्र पढ्ने सबै दलित बालबालिकाको शुल्क आगामी आर्थिक वर्ष देखि गाउँपालिकाले तिर्ने बताए । उच्च शिक्षा हासिल गर्न दलित समुदायको बालबालिकामा लाग्ने खर्चमा गाउँपालिकाको दायित्व रहने थापाको भनाइ छ ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले दलित समुदायको छात्रछात्राहरुलाई छात्रवृत्ति कार्यले समाजमा समता ल्याउने बताइन् । माथिल्लो कक्षा सम्म पुग्न आर्थिक अभावका कारण बीचमै कक्षा छोडेर जाने प्रवृतिले उच्च शिक्षा हासिलमा कमि रहेकोले यस कार्यले थप सहयोग पुग्ने विस्वास लिएको चौधरीले दावी गरिन् ।
सामाजिक विकास संयोजक दिनेश कुमार चौधरीले शिक्षाबाट बन्चित नहुनको लागि यो अभियानलाई निरन्तरता दिने बताए । विजयनगरमा छात्रा प्रोत्साहन अन्तर्गत साइकल वितरण तथा स्टेशनरी, सुरक्षित प्रसुति सेवामा विमा लगायत विभिन्न कार्य गर्दै आइरहेकोे चौधरीले बताए ।
पालिकाद्वारा प्रदान गरिएको दलित छात्रवृत्ति कक्षा ११ र १२ पढ्ने ६५ जना विद्यार्थीलाई जनही प्रति विद्यार्थी ३ हजार ६ सयका दरले २ लाख ४३ हजारको चेक कक्षा १२ सम्म संचालित ३ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको शिक्षा शाखाले जनाएको छ ।
हरेक क्षेत्रमा पछाडी रहेकोे दलित समुदायलाई माथि उठाउन विजयनगरमा पैरवी गर्दै आइरहेको नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष तौलेश्वर खटिकको विशेष पहलमा दलित छात्रवृत्ति वितरण कार्यको थालनी भएको हो ।
कार्यक्रममा दुधाधारी माविका प्रधानाध्यापक सुग्रीव प्रसाद कोरी, विद्यार्थी उमा सुनार र लौटन राम द्रोपदी देवी माविका विद्यार्थी विजय कुमार धोवीले समेत सम्बोधन गरेका थिए ।





