गण्डकी प्रदेश

    पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गर्ने

    नवलपुर टुडे
    २०७९ असार १४ | मध्यान्ह १२:०३ बजे

      काठमाडौं, असार १४ । पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ ।

      यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानिटरी प्याडको व्यवस्थापनका लागि एक करोड ५३ लाख बजेट विनियोजन गरिएको जानकारी दिइन् । नगरभित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीको पनि नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ ।

      यस्तै, पोखरा महानगरले सन्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका लागि तीन करोड ४० लाख बजेट विनियोजन गरिएको छ । बाल विकास केन्द्रका सहयोगी, विद्यालयका सहयोगी र कर्मचारीका लागि तलब दिन चार करोड ६५ लाख र बाल विकास केन्द्रको सवलीकरणका लागि थप एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

      शिक्षिकाहरू प्रसूति विदामा रहँदा उनीहरुको सट्टा अन्य शिक्षक व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।

        कमेन्टहरु