इलामको माङ्सेबुङमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

नवलपुर टुडे
२०७९ असार १२ | मध्यान्ह ०५:०३ बजे

इलाम, असार १२ । इलामको माङ्सेबुङ गाउँपालिका–२ स्थित भित्र सडकमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पाँचथरको रविबाट झापाको दमकतर्फ जाँदै गरेको मे १ ज ४८७ नम्बरकाे बोलेरो सडकबाट खसेर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षे हिमप्रसाद लावती, सोही ठाउँकी ६० वर्षीया पदमकुमार लावती र इलामको माङ्सेबुङ गाउँपालिका–६ का ५० वर्षे प्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु नरहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार हिमप्रसाद र प्रकाशको घटनास्थलमै र पदमकुमारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । गाडी आफैं अनियन्त्रित भइ दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





