निर्माणाधीन पुलमा बाढीले पुर्यायो क्षति

नवलपुर टुडे
२०७९ असार १२ | बिहान ०७:०३ बजे

दोलखा, असार १२ । दोलखाको बिगु गाउँपालिका – ४ स्थित झोरुङ खोलाको निर्माणाधीन पुलमा बाढीले क्षति पुर्याएको छ । बाढीले गर्दा पुलमुनिको ग्याबिन भासिएको छ ।
ढलान गर्ने तयारीमा रहेको उक्त पुलको ग्याबिनमा राखिएका टेका ढलेपछि पुलको फर्मा भाँचिएको छ । पुलमा अहिले छड बाँध्ने काम भइरहेको थियो । शुक्रबार राति आएको बाढीले पुलका केही सामान र संरचना पनि बगाएको थियो ।
यो पुल सिँगटी हाइड्रो र बिगु गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको थियो । हाइड्रोले ८० र गाउँपालिकाले २० प्रतिशत लगानी गरेको छ । २५ मिटर लामो यो पुल निर्माणको जिम्मा त्रिवेणी शेर्पा लाहा जेभीले पाएको थियो ।
यो पुल निर्माणका लागि दुई करोड १६ लाख बजेट ठेक्का लागेको थियो ।





