मधेश प्रदेश, मनोरन्जन

    रामायण सर्किट रेल जनकपुरधाम आइपुग्यो, मुख्यमन्त्री राउतले गरे स्वागत

    नवलपुर टुडे
    २०७९ असार ९ | मध्यान्ह ०२:०३ बजे

      जनकपुर, असार ९ । भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । करिब ५ सय धार्मिक पर्यटक बोकेर रेल जनकपुरधाम आइपुगेको हो । रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गरे ।

      रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो । जयनगरबाट रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा फूलमालाले स्वागत गरिएको थियो । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो ।

      अयोध्याका राम स्वयंवरका लागि जनकपुर आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको छ । रामायण सर्किटअन्तर्गत जनकपुर र अयोध्याको सम्बन्ध अझ प्रगाढ र आत्मीय बन्ने विश्वास छ । ४ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो ।

      रामायण सर्किट जोडन विशेष रेल यात्रा दिल्लीबाट सुरु भएको हो । ‘भारत गौरव टुरिस्ट रेल’ नाम दिइएको रेल भारतीय समयअनुसार मंगलबार साँझ कतिब ७ बजे नयाँदिल्लीबाट जनकपुरधामका लागि छुटेको थियो । उक्त रेलमा १४ वटा डिब्बा छ । रेलको दुईवटा डिब्बालाई विशेष रूपमा योगसम्बन्धी तस्बिर तथा सामग्रीले सजाइएको छ ।

      केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामग्री देख्न सकिन्छ । ६ नम्बर डिब्बामा भने राम-जानकी मन्दिर निर्माण गरिएको छ ।

      photo 2022 06 23 14 48 29

      photo 2022 06 23 14 48 30

      photo 2022 06 23 14 48 32

        कमेन्टहरु