बुटवलको तिनाउ नदिमा एक पुरूषको शव फेला

नवलपुर टुडे
२०७९ असार ६ | मध्यान्ह १२:०३ बजे

बुटवल, असार ६ । बुटवल उपमहानगरपालिका – ११ प्रगतिनगरस्थित तिनाउ नदीको किनारमा एक वृद्धको शव फेला परेको छ । सोमबार बिहान फेला परेको उक्त शव बुटवल – ११ बुद्धनगरका ६५ वर्षीय किशोर बहादुर नेपालीको रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार शवको पहिचान भए पनि उनको मृत्युको कारण भने खुल्न सकेको छैन । तिनाउ नदीको बीचमा थुप्रिएको गेग्रानमाथि नेपालीको शव घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोमबार बिहानै बुटवलमा ठूलो पानी परेको र तिनाउ नदीमा बाढीले बगाएर ल्याएको दाउरा समात्न जाने क्रममा नेपालीलाई बाढीले बगाएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।





