देश

    सर्लाहीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु, ७ जना घाइते

    नवलपुर टुडे
    २०७९ असार ५ | बिहान १०:०३ बजे

      सर्लाही, असार ५ । सर्लाहीको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

      आइतबार बिहान धन्कौल गाउँपालिका–५, छठीघाट पुलमा कार दुर्घटना हुँदा रौतहटको वृन्दावन नगरपालिका–४ का ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनामा सोही स्थानका ७० वर्षका महेन्द्र राय गम्भीर घाइते भएका छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको र बायाँ खुट्टाको तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ ।

      दुर्घटनामा परेर घाइते हुनेहरूमा बृन्दावन नगरपालिका–४ का ४ वर्षीय अमित कुमार यादव, १४ वर्षीया मीरा कुमारी यादव, ३२ वर्षीय जितेन्द्र कुमार यादव, वर्ष १७ की सोभा कुमारी यादव, वर्ष १० का गौतम यादव र ६ वर्षीय अनिकेत यादव रहेका प्रहरीले जनाएको छ । उनीहरु आठै जना एकै परिवारको हुनसक्ने प्रहरीको आशंका छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

      सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्किदै गर्दा उनीहरु सवार भारतीय नम्बर प्लेट बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटनामा परेको थियो । कार अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । कार पुलबाट १५ फिट तल खसेको प्रहरीले जनाएको छ । घटनालगत्तै कार चालक फरार रहेको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।

      मृतक बालकको शव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

        कमेन्टहरु